हराउँदै पारिस्थितिकीय प्रणालीकालागि महत्वका पोखरी   :

कृष्णमणि बराल

पोखरा : मानिस आवातजावत हुने सडक किनारको चौरमा पहिले पहिले थकाईमार्न वर, पिपलका रुख सारेर चौतारी बनाइन्थ्यो । चौतारी नजिकै पानी खाने धारा । धाराको नजिकै पोखरी हुन्थे । 
वर्षा याममा पोखरीमा धेरै पानी जम्मा हुन्थ्यो । हिउँदमा धाराको पानी जम्मा भएर छिछिपे पानी हुन्थ्यो । गर्मी मौसममा त्यही पोखरीको पानीले केही हदसम्म भए पनि सितलता दिन्थ्यो । वन, चौरमा चरेर तिर्खाएका गाई, भैसी र चराले त्यही पानी खान्थे । गर्मी मौसममा भैसी आहाल बसेर सितलता लिन्थे । रातको समयमा त्यही पोखरीको पानी स्याल लगायत वन्यजन्तुले खान्थे । 
पोखराको मुख्य बजार क्षेत्रको २५, ३० वर्ष पहिलेको दृश्य हो यो । अहिले समय फेरिएको छ । पहिलेका यस्ता दृश्य अहिले पोखराका मुख्य बजार क्षेत्रमा देख्न मुस्किल छ । त्यती बेलाका बुढापाकाहरुले मान्छेका आवश्यक्ताको साथै चौपाया, वातावरण, वन्यजन्तुको आवश्यक्तालाई समेत हेरेर पोखरी खन्थे, वर, पिपलका रुख रोपेर चौतारी चिन्थे । अहिले भने यस्ता प्राकृति, वातावरणकालागि महत्वपूर्ण पोखरी गाउँका मर्मत नभएका र सहरका अतिक्रमणमा परेको पोखरा ७ निवासी ८१ वर्षीय गंगाधार तिमिल्सिनाले बताए । 


१५ वर्ष अघि सम्म मालेपाटनको नारेश्वरको चौतारा नजिकै पोखरी थियो । चौरको छेउमा पोखरी संगै धारो थियो । अहिले यहाँ चौतारा र पानी टंकी सहितको धारा छ तर पोखरी भने हराएको छ । २०६६ सालमा पोखरी पूर्णरुपमा पुरिएको पोखरा ५ का पूर्व वडा अध्यक्ष धनबहादुर नेपाली बताउँछन् । पहिले घरघरमा गाई भैसी पालिन्थे । दुध दुएपछि गाईभैसी चरनकालागि खेत, फाँट चौरमा छोडिन्थे । यसरी छाडिएका गाई, भैसी, चराचुरुङ्गीले पोखरीको पानी खान्थे । अहिले गाई, भैसी पाल्न छाडीयो पुर्खाले बनाएको पोखरी संरक्षण र मर्मत पनि हुन छाडेको उनले सुनाए ।


पोखरा ७ मासबार नामले चिनिने यस क्षेत्रको नाम  पोखरी पाटन पनि हो । ठूलो पाटन । पाटनमा थकाइमार्ने चौतारी, सरकारी धारा र धारा नजिकै पोखरी  यहाँको सुन्दरता थियो । यसैले यस ठाउँको नाम नै पोखरी पाटन राखिएको स्थानीय बताउँछन् । 


पोखरीपाटनमा अहिले पनि पोखरी छ तर पहिलेको जस्तो  प्राकृतिक छैन् । सिमेन्टेड वाल लगाएर बनाइएको पोखरी भित्र जनावर त के मान्छे पनि जान नसकीने गरी तीनवटा लीएरका फलामका बार छन् । पोखरी छिर्ने पछिल्लो घेराको गेटमा चापी लगाएर राखिएको छ । 


वातावरण, घरपालुवा जनावर, चराचुरुङ्गी, भ्यागुता, सर्प, गाइनेकिरा, जुनकीरी लगायत जलचर समेत रमाउने पहिलेको पोखरी अहिले रहेन । पोखरी छ तर पोखरी नै नजरबन्दमा परेको जस्तो घेरा बन्दीमा परेको छ ।  पोखराका मुख्य बजार क्षेत्रका अधिकांश पोखरी यसरी नै हराएका छन् । पहिले ठाउँको नाम संग, संस्कृति र परम्परा संग प्रत्यक्ष जोडिएका  र संरक्षण गर्नुपर्छ भनेर जोगाइ राखेका पोखरी पनि  वन्यजन्तु मैत्री मात्र होइन अवैज्ञानिक र बनाउनकालागि बनाइएका जस्ता मात्र छन् । 


समय फेरियसंगै पुराना मान्यता, सभ्यता पछ्याउने क्रम टुट्दा पारिस्थितिकीय प्रणालीकालागि महत्वपूण प्राकृतिक स्रोतहरु हराउँदै गएका छन् ।  संस्कृति, सभ्यता, परम्परा भन्दा माथी समाज विकास भए संगै पोखराका चौतारा, सार्वजनिक धारा, पोखरी संस्कृति हराएर गएको छ । यसरी नै पोखराका मुख्य बजार क्षेत्रमा रहेका अनुमानित सय बढी पोखरी हराएको संरक्षण कर्मी बताउँछन् । 

 

महानगरका ग्रामिण क्षेत्रका सिंचाईको मुख्य स्रोत नै पोखरी


पोखरा महानगरपालिकाका ग्रामिण भेगमा भने केही पोखरी अझै पनि संरक्षण गरेर राखिएका छन् । यसरी संरक्षण गरिएका पोखरी परम्परागत रुपमा खेतीपातीकालागि सिंचाईका स्रोतको रुपमा प्रयोग गरिदै आएका पोखरी हुन् । 


नेपालका पहाडी क्षेत्रमा सिँचाइ सुविधाको अभावमा वर्षा याममा ठूलो पानी पर्दा त्यही भलपानी छोपेर धान रोप्नु पर्ने अवस्था छ । नियमित सिँचाई सुविधाको अभावका कारण समस्या भोग्दै आएका त्यतीबेलाका पुर्खाहरुले सिंचाईका साथै गाई, ,भैसी, चराचुरुङ्गी, वन्यजन्तु सबैलाई हुने गरी बहुउपयोगकालागि घर, गाउँ नजिकै पोखरी खनाएको पाइन्छ । यसरी पुर्खाहरुले बनाएका पोखरी पछिल्लो समयमा धेरै अतिक्रमण परे । संरक्षणको अभावमा पुरिएर हराएका पनि छन् । 


पोखराका धेरै क्षेत्रका पोखरी अतिक्रमणमा परेको यो समयमा पोखरा २४ कास्कीकोटमा भने उदाहरणीय रुपमा संरक्षण गरिएको छ । शाह राजाको पुखौली थलो मध्येको एक थलो हो कास्कीको कास्कीकोट । कुलमन्डन शाहको राजदरवार रहेको कास्कीको कास्कीकोट क्षेत्रमा शाहकालकै समय देखिका पोखरी रहेको स्थानीय ठाकुर प्रसाद त्रिपाठी बताउँछन् ।  
त्यतीेबेला देखिको कास्कीकोटको ठूलीपोखरी अहिले पनि संरक्षण गरेर राखिएको छ । कस्यपताल नामले समेत परिचित यस पोखरी ३० रोपनी क्षेत्रफलमा फैलिएको छ । यस कश्यपताल २२ से २४ से राज्य हुँदा देखिको रहेको स्थानीय समाजसेवी ठाकुरप्रसाद त्रिपाठी बताउँछन् । 


पोखरा २४ कास्कीकोटका किसानले वर्षा याममा यसै क्षेत्रमा रहेका ठूलीपोखरी सहित ४ वटा पोखरीको पानी प्रयोग गरेर धान रोप्दै आएका छन् । परापूर्वकालदेखि नै पोखरीमा जम्मा भएको पानीको भरमा यहाँ धानखेती हुँदै आएको स्थानीय माधवलाल शर्माले सुनाउँछन् । 


यहाँका ठूलीपोखरी, मौला पोखरी, खड्गाम पोखरी, र सानीपोखरी सिंचाँकालागि प्रयोग हुँदै आएका पानीका स्रोतहरु हुन् । यसरी कास्कीकोटका पोखरीमा जम्मा भएका पानीको भरमा करिव २ हजार रोपनी क्षेत्रफलमा धान खेती हुँदै आएको स्थानीय इन्द्रबहादुर जिसी बताउँछन् । ठूलीपोखरीको पानीले साविक कास्कीकोट गाविस ८ नम्बरको स्माली, घडेरी, भाटगाउँ, नेपाली टोल, खरिया पानी सम्मकाक करिव १५ सय रोपनी क्षेत्रफल रोपाइँकालागि पानी उपलब्ध हुने गरेको उनले सुनाए । 


यस्तै गरी कास्कीकोटको खड्गाम पोखरीको पानीबाट त्यस क्षेत्रको करिव दुई सय रोपनी क्षेत्रफलमा सिंचाईहुँदै आएको स्थानीयले बताएका छन् । मौलापोखरी, सानीपोखरी समेत गरेर यहाँका पोखरीबाट करिव २ हजार रोपनी क्षेत्रफलमा सिंचाई सुबिधा पुग्दै आएको स्थानीयको भनाइ छ । 


पोखरीको सांस्कृतिक महत्व


पोखरीको संस्कृतिम महत्व रहेको छ । पुर्खाहरुले वातावरण प्रति सचेत भएर वर, पिपल, समी लगायतका बिरुवा रोपेर हुँकाउने र त्यही रुखको वरपर ढुंङ्गा, माटोको प्रयोग गरेर चौतारी बनाउने चलन थियो । 

चौताराका नजिकै सार्वजनिक धारा बनाउने र धाराको नजिकै पोखरी खनाउने चलन थियो । चौतारा, पोखरी, पाटी, पौवा, इनार, कुवा खनाउँदा र बनाउनुलाई नेपाली समाजमा पुण्य पाउने संग जोडिन्थो । सनातन हिन्दु धर्म, बौद्ध धर्म मान्नेहरुले यसरी धर्म संग जोडेर वातावरण, पर्वायवारकालागि महत्पूर्ण मानिएका पोखरी, कुवा, इनार खनाउने । बिरुवा रोपेर चौतारी बनाउने लगायतका काम हुन्थ्यो । यसरी  पुण्यपाउने कार्य संग जोडेर पर्यावरणीय महत्वको काम पुर्खाहरुले गर्दै आएको बाराही माविका पूर्व प्राचार्य समेत रहेका गंगाधर तिमिल्सिना बताउँछन् । 
त्यतीबेला मान्छेमा धार्मिक प्रवृति थियो । चौतारो बनाए त्यहाँ वर, पिपल सारे , वर, पिपलको पानी खस्ने ठाउँमा पोखरी बनाउनु पर्छ भन्ने मान्यता रहेको तिमिल्सिना सुनाउँछन् । चौतारा नजिकै पानीको धारा हुन्थ्यो । यसरी बनाएको पोखरीको पानी गाई, भैसीले, चराच्याखुरा, वन्यजन्तुले खान्छन भन्ने मान्यता थियो । चौतारामा बटुवाहरु आराम गर्ने, धाराको पानी खाने गर्दा पुण्य प्राप्ति हुने बुझाई थियो । 

यस्तो अवधाराणा अनुसार पहिले जति चौतारा हुन्थे त्यती नै पोखरी पनि बनेको उनको अनुभव छ ।  पोखरामा पोखरीको संख्या धेरै थियो । कास्कीको ग्रामिण क्षेत्रमा अहिले पनि थुप्रै पोखरी छन् तर संरक्षण हुन सकेको छैन ।


कति पोखरी छन्  छैन तथ्याङ्क 


पारिस्थितिकीय प्रणाली सन्तुलन राख्न महत्वपूण मानिएका पोखरी पोखरामा कति थिए र अहिले कति छन भन्ने अध्ययन अनुसन्धान महानगरपालिका आफैले गरेको पाइदैन । पोखरा महानगरभित्र कति पोखरी छन् त भन्ने तथ्याङ् महानगरले अहिले सम्म राखेको पाइँदैन । 


पछिल्लो समयमा पोखरा महानगरपालिकाले पोखरी संरक्षणको काम गरिरहेको भए पनि महानगरका ३३ वटा वडामा विगतमा कति पोखरी थिए र अहिले कति छन् भन्ने एकिन तथ्याङ्क नरहेको पोखरा महानगरपालिका वातावरण शाखाका प्रमुख निर्मलमान सिंह भण्डारी बताउँछन् । 


सुदृड नेपाल नामक गैरसरकारी संस्थाले पोखरमा गरेको एक अध्ययन अनुसार पोखरा महानगरपालिकाका ३३ वडा भित्र १२९ वटा पोखरी अहिले पनि बिभिन्न अवस्थामा अस्थित्वमा रहेको जनाएको छ । १२९ पोखरी मध्ये २१ वटा पोखरीको स्पाम्पल सर्भे गर्दा सबै सिजनमा पानी हुने पोखरीको संख्या जम्मा ४ वटा रहेको बताइएको छ । पोखरा ५ को खुडेपोखरी, पोखरा १३ को माछापोखरी, वडा नम्मर १४ को भगवती पोखरी र वडा नम्बर १६ को ठूलीपोखरी सबै सिजनमा पानी भइरहेने पोखरी रहेको अध्ययन रिपोटमा उल्लेख छ ।  
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार तलाउ÷पोखरीहरूको लगतसूची तयार गर्ने, तथ्यांक सङ्कलन गरी नियमित अद्यावधिक गर्ने र पोखरीको संरक्षण गर्ने अधिकार र जिम्मेवारी वडा समितिको रहन्छ तर अहिले सम्म कुन वडामा कति पोखरी छन् भन्ने महानगरपालिकाले अध्ययन गरेको देखिदैन । 
पोखरीको पर्यावरणीय महत्व 
दह, पोखरी, कुवाको पर्यावरणीय महत्वका स्रोतहरु हुन् । पोखरीले पारिस्थितिकीय प्रणालीलाई सन्तुलन राख्ने भएकोले यसको महत्व पर्वावरणमा धेरै छ । पानीमा आश्रीत उभयचर, जलचर पोखरीमा पनि हुने भएकोले पारिस्थितिकीय प्रणालीमा यसको महत्वपूर्ण भूमिका रहने विपद् तथा जलवायु अनुकुलन विज्ञ डा दिपेन्द्र जोशी बताउँछन् । 


चराचुरुङ्गी, वन्यजन्तु, वनस्पतिकालागि पनि पोखरी उतिकै महत्वपूर्ण रहन्छ उनले भने । पोखरीको पानीको प्रयोगबाट सिंचाई सुबिधा पनि हुने भएकोले खाद्यन्नको उत्पादकत्व पनि वृद्धि हुँदै जान्छ । चराचुरुङ्गी लगायत, उभयचर, जलचरको बासस्थान हुने भएकोले फुड चेनमा पनि सहयोग गर्छ । जिविको पार्जनमा पोखरीको महत्वपूर्ण योगदान रहन्छ । स्थानीय तहको पारिस्थितिकीय प्रणालीको सम्बन्ध ब्यालेन्स गरेर राख्ने भएकोले पोखरीको बहुआयामिक महत्व रहेको छ ।  


पोखरी पनि सिमसार क्षेत्रकै अंग हो । सिमसार पारिस्थितिक प्रणालीको एक महत्वपूर्ण अंग हो । पानीको भण्डारण र स्वच्छीकरण गर्न पोखरीको महत्व रहेको छ । पोखरी धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकिय स्थलको रुपमा पनि महत्व रहेको हुन्छ । यति महत्वपूर्ण पानीका स्रोत पोखरीको पहिचान गरि वन्यजन्तु मैत्री  निर्माण गरेर पुर्न प्रयोगमा ल्याउन ढिलाई गर्नु हुँदैन । 


 

प्रतिकृया दिनुहोस

हराउँदै पारिस्थितिकीय प्रणालीकालागि महत्वका पोखरी   :

मेरो जीवनका तीन घुम्तीहरू छन् । जहाँसम्म मलाई सम्झना छ,  एउटा त फिल्म इन्डष्ट्र जहाँ मैले कसैलाई चिनेकी थिइनँ । जहाँ मेरो केही पृष्ठभूमि पनि थिएन ।

हराउँदै पारिस्थितिकीय प्रणालीकालागि महत्वका पोखरी   :

पोखरास्थित केदारेश्वर महादेवमणि सेवा आश्रम समितिका पिठाधीश डा. चिद्धन चैतन्यले हामी मानवभित्र आनन्द रहेको तर हामीभित्रै रहेको आनन्दमा वासनारुपी

हराउँदै पारिस्थितिकीय प्रणालीकालागि महत्वका पोखरी   :

भारतको नौतुनामा  ब्यक्तिगत काम सकेर म सुनौली फर्किए । मेरो साथमा एउटा झोला मात्र थियो जसमा मेरा कागजी पत्र छन् । नौतुना आउन भन्दा पहिले नाति अमनले

↑