ताजा खबर

नेपाल केशरी डा.मणिभद्र मुनिजी महाराजको ‘आत्मानुसन्धान’ लोकार्पण :

 
 
पोखरा, १७ पुस
 
मानव मिलन संस्थाका संस्थापक नेपाल केशरी डा. मणिभद्रमुनिजी महाराजद्वारा लिखित ‘आत्मानुसन्धान’ कृति लोकार्पण गरिएको छ । मणिभद्र मुनिजीद्वारा लिखित हिन्दी भाषाको सो पुस्तकलाई प्रा.डा. नारायणप्रसाद अधिकारीले नेपालीमा अनुवाद गरेका हुन् । 
 
मानव मिलन नारी जागरण नेपाल तथा मानव मिलन संस्था पोखराले सोमबार पोखरामा एक समारोहको आयोजना गरी गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको हातबाट लोकार्पण गरेको हो । सो अवसरमा डा. यादवले जैन धर्म, नेपाली धर्तीपुत्र मणिभद्र मुनिजीको खुलेर प्रशंसा गरे । उनले स्याङ्जाका सामान्य परिवारका बालक भारत पुगेर यसरी संसारमा परिचित बन्नु मुलुककै गर्वलायक विषय भएको बताए । 
 
‘मणिभद्रजीले ३६ वर्षसम्म भारतका विभिन्न प्रान्त र नेपालका पनि कतिपय अञ्चलमा गरी ८० हजार कि.मि. पैदल यात्रा गर्नुभएको छ । त्यस पैदल यात्रामा उहा“ जहा“–जहा“ पुग्नुभयो, त्यहा“ अहिंसा र शान्तिको अग्रदूतका रूपमा प्रस्तुत हुनुभयो ।’ डा. यादवले लिखित मन्तव्यमा भने– ‘उहा“ एउटा आध्यात्मिक साधक मात्र नभएर उच्चतम शैक्षिक उपाधि प्राप्त व्यक्तित्व हुनुहुन्छ । यस्तै–यस्तै शिक्षाप्रद र प्रेरणादायी विचारका धनी महाराजका लेख रचनाहरू र प्रवचनहरू पुस्तकाकारका रूपमा प्रकाशित भएका छन् । उहा“ले विभिन्न ठाउ“ र प्रसंगमा हिन्दी भाषामा दिनुभएका प्रवचनहरूको संकलन आत्मानुसन्धान भएकाले यो फलदायी हुने विश्वास छ ।’
 
‘मानव मानवबीचको सद्भावको विकास गर्ने, मानव कल्याण गर्ने, प्राणीबीच सुमधुर सम्बन्ध स्थापित गर्न जैन धर्म उत्कृष्ट छ ।’ डा. यादवले भने– ‘जैन धर्ममा प्रत्येक जीवनको स्वतन्त्र अस्तित्वको प्रतिपादन गरिएको छ तथा सबै प्रति समता र समानताको व्यवहार गर्नुपर्ने कुरा राखिएको छ ।’ 
 
भारतबाट आएका विशेष अतिथि कमलेश मुनिजी महाराजले मुनिहरु राष्ट्रको सिमानामा कैद नहुने बताउँदै उनीहरु विश्वकै ज्योति भएको बताए । सबै आत्मा परमात्माका रुप हुन्, नारीको सम्मान हुनुपर्छ भन्दै उनले तीन हजार किलोमिटर पैदल नै हिँडेर आफू यहाँसम्म आएको बताए । 
 
अर्का विशेष अतिथि उत्तर प्रदेश भारतीय जनता पार्टीका महासचिव सलिल विष्णेयीले धर्म र संस्कृति मिल्दो दुई छिमेकी देश नेपाल र भारतबीच आपसी सम्बन्ध प्रगाढ हुनुपर्ने बताए । उनले आफ्नो धर्मप्रति आस्थावान् हुनुपर्ने उल्लेख गरे । मानव मिलनको आधार नै सर्वधर्मको सम्मान हो भन्दै विष्णेयीले डा. मणिभद्रजी दार्शनिक तथा मार्गदर्शक रहेकाले आफ्नो सदैव उच्च सम्मान रहेको बताए ।
 
कार्यक्रममा महासति प्रियलताजी महाराज, विश्व हिन्दु महासंघका अध्यक्ष रामचन्द्र अधिकारी, अनुवाद प्रा.डा. नारायणप्रसाद अधिकारी, नेपाल धर्म जागरणका अध्यक्ष शंकर पाण्डे, पूर्व मन्त्री महादेव गुरुङ, स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोला, मानव मिलन संस्था पोखराका अध्यक्ष रेशमराज सुवेदी, मानव मिलन संस्था स्याङ्जाका अध्यक्ष नारायणप्रसाद पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा डा. रोचना विष्णेयी, राकेश जैन लगायतले भजन प्रस्तुत गरे । कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णले पुस्तक ‘आत्मानुसन्धान’ को समिक्षा गरे । 
 
मानव मिलन नारी जागरण नेपालकी अध्यक्ष सविता बरालले स्वागत गरेको कार्यक्रममा लोकार्पण समारोह संयोजक एवं संस्थापक अध्यक्ष सावित्री शर्माले कार्यक्रमको सञ्चालन गरेकी थिईन् । 
 
 

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal