ताजा खबर

१५औं माछापुच्छे् बैंक पोखरा ओपन भेट्रान टेनिस प्रतियोगिता शुरु

 
सिंगापुरे प्रशिक्षक जोनको विजयी शुरुवात
१० पुस, पोखरा । 
 
कास्की जिल्ला टेनिस संघको आयोजनामा १५ औं माछापुच्छ्रे बैक पोखरा ओपन भेट्रान्स टेनिस प्रतियोगिता सोमबारदेखि पोखरामा शुरु भएको छ । प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छे्र बैंकका अध्यक्ष रोशन केसीले एक समारोहका विच उद्घाटन गरे । टुर्नामेण्ट डाइरेक्टर राजन पौडेललाई टेनिस बल हस्तान्तरण गर्दै केसीले प्रतियोगिताको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै केसीले बैंकले आफ्नों सामाजिक दायित्व वहन गर्नका लागि समाजमा विभिन्न सहयोगहरु गर्दै आएको जानकारी दिए । पोखराबाटै शुरु भएको बैंकले पोखरामै हुने राष्ट्रिय प्रतियोगितालाई सहयोग गर्न पाउँदा खुसि लागेको बताउँदै सहयोगलाई निरन्तरता दिने उनले प्रतिबद्धता जाहेर गरे । अध्यक्ष केसीले बैंक सञ्चालनका क्रममा यस क्षेत्रबाट विगतका दिनहरुमा पाएको सहयोग आगामी दिनहरुमा पनि पाउने आशा समेत व्यक्त गरे । 
 
प्रतियोगिताको उद्घाटन खेलमा सिंगापुरमा टेनिस प्रशिक्षण दिलाउँदै आएका पोखरेली खेलाडी अनु जोनले जित हाँसिल गरेका छन् । उनले ३५ वर्ष माथिको एकल इभेण्टमा काठमाण्डौका निरेश श्रेष्ठलाई ६–२, ६–४ को सोझो सेटमा पराजित गरे । जोनले विगत डेढ दशकदेखि सिंगापुरमा व्यवसायिक रुपमा टेनिस सिकाउँदै आएका छन् । ३५ वर्ष माथिकै अन्य खेलहरुमा शंकर कार्कीले जन्मजय शम्शेर जबरालाई ६–३, ६–२ ले, राजन बिजुक्छेले कृष्ण केसीलाई ६–३, ६–२ ले, डा.देव थापाले भष्म काउछालाई ६–४, २–६ र सुपरटाईमा १०–५ ले पराजित गरे । त्यसैगरि शिब सुवेदीले सुनिल भट्टराईलाई ६–१, ७–५ मा, प्रकाश वाग्लेले चन्द्र लामालाई ७–५, ५–७ र र सुपरटाईमा १०–६ को प्रतिस्प्रधात्मक सेटमा पराजित गरे भने नविन श्रेष्ठले मुनिष थापामाथि ६–२, ६–३ को नतिजा निकाले । बिरेन्द्र लामा र सूर्य शाहिले वाकओभरको आधारमा दोश्रो चरणमा स्थान बनाए । 
 
३५ वर्ष माथिको डबल्सतर्फ दोर्जे लामालाई जोडी बनाएका अनु जोनले शेसमणि चौधरी र भष्म काउछाको जोडीलाई ६–२, ६–१ को सेटमा पराजित गरे । शसक्त मानिएका पोखराका गोपीबहादुर भट्टराई र धरमबहादुर लामिछानेको जोडी भने पहिलो खेलबाटै बाहिरिए । काठमाण्डौका हिमाल शाह र राजु क्षेत्रीको जोडीले गोपी र धरमको जोडीलाई ६–७, ६–३ र सुपरटाईमा १०–४ ले पराजित गरेका हुन् । लोक गुरुङ्ग र राजन पौडेलको जोडीले राजन बिजुक्छे र शिब सुवेदीको जोडीलाई ६–४, ६–० को सोझो सेटमा पराजित गरे । त्यसैगरि चन्द्र लामा र बिरेन्द्र लामाको जोडीले शुबर्ण ढाक्वा र निरेश श्रेष्ठको जोडीबाट वाकओभर पाए । 
 
४५ वर्ष माथिको एकलमा राजु गुरुङ्गले काजि गुरुङ्गमाथि ६–१, ३–६ र सुपरटाईमा १०–५ को कठिन जित निकाले । त्यस्तै, दिनेश तुलाधरले हुम आलेमाथि संघर्षपूर्ण खेलमा ३–६, ६–४ र सुपरटाईमै १०–२ को जित हाँसिल गरे । ४५ वर्ष माथिको अन्य खेलहरुमा सूर्य भुजेलले माधब भण्डारीलाई ६–१, ६–२ ले, बिमल गुरुङ्गले सूर्य शाहिलाई ६–४, ६–० को सेटमा पराजित गरे । अशोक सिंह अनुपस्थित भएपछि अनुज बाँस्तोेलाले र अमृत रोक्काको अनुपस्थितीमा धर्म कोइरालाले तथा चन्द्र तामाङ्गको अनुपस्थितीमा सुनिल श्रेष्ठले वाकओभरमा जित हाँसिल गरे । ४५ वर्षको डबल्सतर्फ धर्म कोइराला र कुमार गुरुङ्गको जोडीले मनोज बस्नेत र रामु विकको जोडिमाथि ६–०, ६–२ को सहज जित दर्ता गरे । त्यस्तै, अमृत रोक्का र छिरिङ्ग शेर्पाको जोडीपनि वाकओभरकै आधारमा दोश्रो चरणमा स्थान बनाए । ५५ वर्ष माथिको एकलमा दार्जलिङका डेनम लामाले पोखराका शान्ता श्रेष्ठलाई ६–२, ६–२ ले तथा अनिल तुलाचनले विष्णु गुरुङ्गलाई ६–० र रिटायर्ड हर्टमा पराजित गरे । 
आयोजक संघ कास्कीका कार्यबाहक अध्यक्ष दोर्जे लामाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा संघका उपाध्यक्ष नारायण पहारी, सचिव लोक गुरुङ्ग, नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशब पाठक लागयतले बोलेका थिए । 
 
पाँच दिने प्रतियोगितामा ३५ वर्ष माथिको एकलतर्फको विजेताले नगद ५० हजार तथा उपविजेताले नगद २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरि सोहि उमेर समुहमा डबल्सतर्फको विजेताले नगद १५ हजार तथा उपविजेताले नगद ७ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । ४५ वर्ष माथिको एकलतर्फको विजेताले नगद २० हजार र उपविजेताले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने डबल्सतर्फको विजेताले १५ हजार र उपविजेताले नगद ७ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । ५५ वर्ष माथिको एकलतर्फको विजेतले नगद २० हजार तथा उपविजेताले नगद १० हजार, डबल्सतर्फ विजेताले नगद १५ हजार उपविजेताले नगद ७ हजार, ६५ वर्ष माथिको एकल विजेताले नगद २० हजार तथा उपविजेताले १० हजार तथा डबल्सतर्फ विजेताले १५ हजार र उपविजेताले ७ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
 
फोटो ः माछापुच्छ्रे बैकका अध्यक्ष रोशन केसी टुर्नामेण्ट डाइरेक्टर राजन पौडेललाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गर्दै । 

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal