झापा ५ मा केपी ओलीविरुद्ध विश्वप्रकाशलाई उठाउने तयारी

नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि झापा ५ मा एमाले अध्यक्ष केपी ओलीविरुद्ध युवानेता विश्वप्रकाश शर्मालाई उठाउने तयारी गरेको छ ।


शर्माको आफ्नो क्षेत्र झापा १ हो । उनले यो पटक पनि त्यहीँ चुनाव लड्ने तयारी गरेका थिए । तर, पछिल्लो समय कांग्रेस नेतृत्वले शर्मालाई क्षेत्र नम्बर ५ मा जान प्रस्ताव राखेको छ ।कांग्रेस संसदीय समितिले बुधबारबाट दोस्रो चरणको टिकट वितरणबारे छलफल थालेको छ । नेताहरुका अनुसार झापा ५ मा शर्मालाई उम्मेदवार बनाउने तयारी छ ।

वाम गठबन्धनबाट झापा ५ मा ओली उम्मेदवार बन्दैछन् । उनीविरुद्ध चुनाव लड्न कांग्रेसका धेरै नेता तयार छैनन् । दोस्रो संविधानसभामा ओलीसँग चुनाव लडेका सुरेश सुब्बा समानुपातिकमा बसेका छन् भने ०६४ मा हारेका महेन्द्र सुब्बा पनि तयार छैनन् ।

जिल्ला कार्य समितिले यो पटक झापा ५ बाट पूर्वमन्त्री केशव बुढाथोकी र रामकुमारी पौडेलको नाम सिफारिस गरेको छ । तर, दुबै नेताहरु ओलीविरुद्ध चुनाव लड्न तयार नभएपछि शर्मालाई अघि सार्न लागिएको एक नेताले बताए ।

शर्मा भने ओलीसँग लड्न तयार देखिएका छन् ।

कमजोर उम्मेदवार उठाउँदा एमाले अध्यक्ष ओली आफ्नो चुनाव क्षेत्र छाडेर अन्यत्र चुनाव प्रचारमा जान सक्छन् । यदि विश्वप्रकाशलाई उम्मेदवार बनाउँदा कडा प्रतिस्पर्धा हुने र उनी आफ्नै चुनाव क्षेत्रमा केन्दि्रत हुनुपर्ने अवस्था आउने कांग्रेसको विश्लेषण छ ।

यो क्षेत्रमा दमक नगरपालिका, कमल गाउँपालिकाका साथै गौरादहको १ देखि ८ नम्बर वडा र गौरीगञ्ज गाउँपालिकाका ३ देखि ६ वडाहरु पर्छन् ।

हालै सम्पन्न स्थानीय चुनावमा दमक नगरपापलिका एमालेले जितेको छ भने कमलमा कांग्रेस र एमालेले समान मत पाएपछि गोला हानिएको थियो, जसमा एमालेले बाजी मार्‍यो ।

यस्तै गौरादहमा कांग्रेस र गौरीगञ्जमा राप्रपाले स्थानीय तहको प्रमुख जितेको थियो ।

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal