मेची-महाकाली बुलेट रेल बनाइदिन जापानलार्इ नेपालको प्रस्ताव

सरकारले जापान सरकारसँग मेची-महाकाली रेलमार्ग निर्माणको जिम्मा लिन प्रस्ताव गरेको छ । त्यसका लागि आवश्यक ऋण जुटाइदिन पनि सरकारले आग्रह गरेको छ ।

२५ असोज-१ कात्तिकमा जापान भ्रमण गरेका भौतिक योजना तथा यातायात मन्त्री वीरबहादुर बलायरले जापानी समकक्षी कासुनरी टाकाहासीसँग यस्तो प्रस्ताव राखेका हुन् ।
मन्त्री बलायरले भने, ‘नेपालमा पनि जापानी प्रविधि र सीपमा बुलेट रेल बनाउने उद्देश्यले मन्त्री टाकाहासीसँग आग्रह गरेको हुँ । त्यसमा उनी सकारात्मक देखिएका छन् ।’


‘उनीहरुले पनि राजदूतमार्फत छलफल चलाइरहेका छन्, हामी छिट्टै टुंगोमा पुग्छौं,’ मन्त्री बलायरले भने ।स्वदेश फर्किएलगत्तै मन्त्री बलायरले जापानी राजदूत मासासी ओगावासँग त्यसबारे छलफल अगाडि बढाएका छन् ।

ठेक्का तथा त्यसका लागि आवश्यक रकम जुटाउन जिम्मा दिनेगरी मन्त्रालयले उक्त रेलमार्ग निर्माणको जिम्मा जापानलाई दिन चाहेको हो ।

नौ सय ४५ किलोमिटर लम्बाइको रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन -डीपीआर) तयार भइसकेको छ । केही स्थानको डीपीआर निर्माणका लागि परामर्शदाता छनोटको काम अगाडि बढेको छ ।

अहिले बर्दिवासदेखि लालबन्दीसम्मको ३० किलोमिटर रेलमार्ग निर्माणाधीन छ । उक्त खण्डमा कल्भर्ट र पुल निर्माणलगायत काम पनि भइरहेको छ ।

सन् २००८ मै तयार भएको हो, उक्त रेलमार्गको अवधारणा । जुन, निर्माणको चरणमा प्रवेश गर्न सकेको छैन ।

रेलवे विभागले पश्चिममा बुटवलसम्मको डीपीआर तयार गरेको छ । अहिले बुटवलदेखि कोहलपुर र कोहलपुरदेखि पश्चिम क्षेत्रका लागि डीपीआर निर्माणको प्रक्रिया अगाडि बढेको छ ।

साथै, जापान भ्रमण क्रममा मन्त्री बलायरले नेपाललाई अनुदानमा पहिलो सूचीमा राख्न पनि आग्रह गरेका छन् ।

 

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal