रामबजार महोत्सवको पाँचौ सँस्करण शुरु :

पोखरा, २० असोज । 
 
पाँचौ सँस्करणको रामबजार महोत्सव शुक्रबारदेखि शुरु भएको छ । पोखरा रामबजारस्थित कालिका उच्च माविको प्राङ्गणमा शुरु भएको महोत्सवलाई पोखरा–लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उद्घाटन गरे । रामबजार यूथ क्लबको आयोजनामा यो महोत्सव भएको हो । महोत्सव २८ गतेसम्म चल्ने आयोजकले जानकारी दिएको छ । 
 
महोत्सवको उद्घाटन गर्दै महानगर प्रमुख जिसीले युवाहरुको जोश र जाँगरले मात्रै नगरको विकास सम्भव भएको बताए । ‘महानगरलाई देशकै नमूना बनाउन सबैको उत्तिकै सहयोग चाहिन्छ विशेष गरि युवा पुस्ताको त झन् बढि ।’ जिसीले भने–‘त्यसो भयो भने मात्रै महानगरको विकास छिटो हुन सक्छ ।’ उनले महानगरले युवाहरुलाई लक्षित गर्दै नयाँ कार्यक्रम संचालनमा ल्याउन लागेको बताए  । 
 
उनले रामबजार यूथ क्लबलाई पोखराको सम्बृद्धिमा साथ दिन अपिल गर्दै सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह गरे । र, पाँचौ सँस्करणको रामबजार महोत्सवको सफलताको कामना पनि गरे । ‘युवाहरुको एकता सँधै कायम रहोस् र त्यसको प्रतिफल सकारात्मक होस् ।’ जिसीले भने । क्बलका अध्यक्ष धनबहादुर पुनको अध्यक्षतामा शुरु भएको औपचारिक कार्यक्रमलाई सचिव राजु आलेले संचालन गरेका थिए । 
 
महोत्सव शुरु भएसँगै रामबजार क्षेत्रमा निकै चहलपहल शुरु भएको छ । पहिलो दिन नै महोत्सवस्थलमा उल्लेख्य दर्शकहरु देखिए । औपचारिक कार्यक्रम सकिएसँगै दिउँसोमा लोकदोहोरी गायकगायिकाहरुले दर्शकलाई मनोरञ्जन गराए । लोकदोहोरी तर्फ यो पटक बिमाकुमारी दुरा, पशुपती शर्मा, ज्योती मगर, प्रीति आले, प्रजापति पराजुली, बद्रि पंगेनी, पुरुषोत्तम न्यौपाने, जीवन दाहाल लगाएतका कलाकारहरुको प्रस्तुती रहने आयोजकले बताएको छ । 
 
त्यस्तै साँझपख दर्शकहरु लाइभ कन्सर्टमा रमाए । साँझ हुने लाइभ कन्सर्टमा आशिस राना ‘लाउरे’, सुगम पोखरेल, प्रयत्न श्रेष्ठ, दिपक बज्राचार्य, नरेन लिम्बु, अल्मोडा राना उप्रेती, द स्याडोज ब्याण्ड, रोबिन एण्ड न्यू रिभोल्युसन, एमटी ८८४८, देउराली ब्याण्ड, मुक्ति एण्ड रिभाइभल लगाएतको प्रस्तुती रहनेछ । ९ दिनसम्म चल्ने यो महोत्सवमा सन्दिप क्षेत्री र कार्टुन क्रुजको विशेष प्रस्तुती समेत समावेश हुनेछ । 
 
आयोजकले यो पटक साँझमा फेशन शो लाई पनि स्थान दिएको छ । त्यस्तै विहान ५ बजेदेखि पतञ्जली  योगपिठ नेपालले महोत्सवस्थलमा निशुल्क योगा प्रशिक्षण गराउने व्यवस्था गरेको छ । ‘गरुड इन्टरटेनमेन्ट’ले महोत्सवको व्यवस्थापनको जिम्मा लिएको छ । महोत्सवमा ७० हजारभन्दा बढि दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजकको अनुमान छ । 
 

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal