प्रदेश र संसदको निर्वाचन २ चरणमा, मंसिर २१ गते दोस्रो चरणको चुनाव

 सरकारले प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गर्दै मंसिर २१ गते अर्को मिति तय गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा दुई चरणमा निर्वाचन गर्ने गरी दोस्रो चरणको निर्वाचन मिति मंसिर २१ गतेलाई तोकेको हो ।


बैठकले प्रदेश प्रमुख र प्रदेशको राजधानीको बारेमा राजनीतिक सहमतिका आधारमा छलफल गरी निर्णय गर्ने र संवैधानिक परिषदबाट पदाधिकारी सिफारिस गर्ने गरी राष्ट्रिय प्रकृति तथा वित्त आयोग गठन गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।यसअघि सरकारले  दुवै निर्वाचन एकैपटक गर्ने निर्णय गर्दै मंसिर १० गतेका लागि मिति तोकेको थियो । सरकारले चुनाव दुई चरणमा गर्ने निर्णय गरे पनि कहाँ कुन चरणमा गर्ने भन्नेबारे भने केही निर्णय गरेको छैन ।

बैठकले एसियाली विकास बैकबाट भन्सार क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि प्राप्त १५ अर्ब ४८ करोड ऋण अनुदान सहायता स्वीकार्ने निर्णय पनि गरेको छ ।

बैठकले सहायक रथी राजेन्द्र कार्कीलाई उपरथिमा बढुवा गर्दै भूमिसुधार सचिव कृष्णप्रसाद देवकोटालाई आपूर्ति मन्त्रालयमा, भूमिसुधारमा शम्भु कोइरालालाई, खानेपानीमा कृष्णराज विसी र महेश्वर न्यौपानेलाई पर्यटन मन्त्रालयमा लैजाने निर्णय सरकारले गरेको छ ।

सरकारले केही अनुसन्धान निर्देशकको पनि बढुवा गरेको छ । अनुसन्धान निर्देशक पदमा हुतराज थापा लगायत तीन जनालाई बढुवा गरिएको मन्त्री बस्नेतले जानकारी दिए ।

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal