पुल भाँचिएर बस रुदीखोलामा खस्यो, दुई च्यापिए, एक वेपत्ता

 लमजुङको मध्यनेपाल नगरपालिका ८मा पर्ने कास्की र लमजुङ जोड्ने मोटरेवल पुल भाँचिएर यात्रुबस खोलामा खस्दा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् ।

 

दुर्घटनामा ९ जना घाइते भएका छन् । घाइतेको गण्डकी मेडिकल कलेज पोखरा र रामबजारको स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

पोखराबाट कास्कीको  बिलुवावेसी जाँदै गरेको ना ५ ख ६३९५ नम्बरको यात्रुबस लमजुङको सीमाक्षेत्र रुदी खोलाको पुल तर्ने क्रममा पुल भाँचिएपछि खोलामा खसेको थियो ।

दुर्घटनामा एक जना पुरुषलाई खोलाले बगाएर बेपत्ता बनाएको लमजुङका प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले प्रहरीलाई उदृत गर्दै जानकारी दिए । त्यस्तै दुर्घटनाग्रस्त बसभित्र दुई जना च्यापिएको उनले जानकारी दिए । आफू घटनास्थलतर्फ जाँदै गरेको बताउँदै प्रजिअ मैनालीले च्यापिएकाको छिट्टै उद्दार हुने बताए ।

बसमा करीव ३५ यात्रु सवार रहेको र अन्यलाई सामान्य चोटपटक लागेकाले उपचारपछि घर फर्किसकेको उनले जानकारी दिए । रुदीखोला जलबिद्युत परियोजनाले निर्माण गरेको मोटरेवल पुल भाँचिएको हो ।

गत असार १६ गते खोलामा आएको बाढीले ८.८ मेगावाट क्षमताको रुदीखोला–ए र ६.६ मेगावाटको रुदीखोला–‘बी’ जलविद्युत आयोजनामा क्षति पुर्याएको थियो ।

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal