ताजा खबर

नागरिक समाज पोखराको पोखरा लेखनाथ महानगरपालिका प्रमुखलाई २३ बुँदे ध्यानाकर्षण पत्र :

नागरिक समाज पोखराको प्रतिनिधि मण्डलले समग्र पोखरा उपत्यकालाई सफा, सुन्दर, व्यवस्थित, नागरिकमैत्री एवम् वातावरणमैत्री बनाउन पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी समक्ष २३ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ। संयोजक रामबहादुर पौडेलको नेतृत्वमा गएको टोलीले  ध्यानाकर्षण पत्र बुझाएको हो  ध्यानाकर्षण पत्र ग्रहण गरे लगत्तै महानगर प्रमुख जिसीले प्राप्त सुझावहरु समग्र पोखराको हितमा रहेकोले अावश्यक परामर्श गरि बुँदागत रुपमा कार्यान्वयन गर्न अाफु तयार रहेको बताउनु भएको छ।

के छ त २३ बुँदे ध्यानाकर्षण पत्र मा ? 

१. पोखरालाई २०७३ कात्तिक २४ गते प्लाष्टिक झोलामुक्त नगर घोषणा गरिसकेको सन्दर्भमा प्रभावकारी अनुगमन अभाव र फितलो कार्यान्वयन पक्षका कारण वातावरण प्रदूषण गर्ने प्लाष्टिक झोला सर्वत्र भेटिएकोले रोकथामका लागि अविलम्ब पहल गरियोस् ।

२. वर्षायाममा नगरका विभिन्न भागमा खुला नालाका कारण नगरबासीले ज्यान समेत गुमाउनु परेकोले तत्काल स्ल्याब निर्माण गरियोस् ।

३. फेवातालमा मिसिने फिर्के–बुलौंदी लगायतका खोलाहरुमा चेकड्याम निर्माण गरियोस् ।

४. फोहोरमैला व्यवस्थापन प्रणालीलाई विशेष प्राथमिकतामा राख्दै वैज्ञानिक, व्यवहारिक, छिटो छरितो र पारदर्शी बनाइयोस् ।

५. नगरभित्रका मुख्य सडक, नदी, खोला र सार्वजनिक जग्गासँग जोडेर संचालनमा ल्याइएका कबाडी व्यवसायका कारण सहर फोहोर र अव्यवस्थित भएकोले उपयुुक्त ठाउँमा स्थानान्तरण गरियोस् ।

६. पोखरा र लेखनाथको विभिन्न ठाउँमा व्यवस्थित फोहोरमैला संकलन केन्द्र स्थापना गरी सार्वजनिक स्थलमा फोहोरमैला बिसर्जन गर्नेलाई कडा कारबाही गरियोस् ।

७. नगरपालिकाको निस्क्रियताका कारण चौतर्फी दण्डहीनता मौलाउँदै गएकोले नगरबासीले सास्ती खेप्नुपरेको छ । तसर्थ सेवा प्रवाहलाई चुस्त दुरुस्त राख्न सम्बन्धित विभागीय प्रमुखलगायत शाखा प्रमुखलाई उत्तरदायी र जवाफदेही बनाउँदै पुरस्कार र दण्ड सजायको व्यवस्था गरियोस् ।

८. विकासका नाममा स्थानीय संघसंस्था लगायत शक्ति समूहले वन, ऐतिहासिक चौतारी, पोखरी नष्ट गर्दै आएकोमा त्यस्तो कार्यलाई निरुत्साहित गरी मर्मत र संरक्षणका लागि अविलम्ब पहल गरियोस् ।

९. सार्वजनिक जग्गा, गुठी जग्गा, वन, पोखरी दर्ता गर्ने कार्यलाई तत्काल रोक्का गरियोस् ।

१०. दिनहुँजसो नगर क्षेत्रमा आयोजना गरिने मोटरसाइकल ¥याली तुरुन्तै बन्द गरियोस् ।

११. सार्वजनकि हितका लागि प्रयोग गरिने आपत्कालीन सूचनाबाहेक माइकिङ गर्न तुरुन्तै बन्द गरियोस् ।

१२. व्यवस्थित सहरका लागि वि.सं. २०६८ मा सुरु गरिएको मापदण्ड विपरीतको डोजर अभियानलाई पारदर्शी बनाई पुनः संचालनमा ल्याइयोस् ।

१३. पृथ्वी राजमार्गको डाँडाको नाक प्रहरी चौकीदेखि विजयपुरहुँदै अमरसिंहचोकसम्म र भूपि शेरचन राजमार्गको विन्ध्यवासिनीदेखि हेमजा फेदीसम्म नागरिक सुरक्षाका लागि पैदलमार्ग निर्माण गरियोस् ।

१४. लेखनाथ र पोखराका नगर क्षेत्रभित्र अलपत्र रुपमा रहेका ग्यारेज र वर्कसपलाई व्यवस्थित गर्न अटो भिलेजको व्यवस्था गरियोस् ।
१५. तोकिएको सडक मापदण्ड कायम गर्न नक्सा पाससँगै लगत कट्टाको समेत व्यवस्था गरियोस् ।

१६. पृथ्वीचोकमा व्यवस्थित र आधुनिक बसपार्क निर्माण गर्न अविलम्ब पहल गरियोस् ।

१७. रत्नमन्दिर–हिमागृह परिसरलाई सम्पदा क्षेत्र, जैविक विविधता पार्क तथा संग्रालयका रुपमा स्थापना गरी सर्वसाधारणका लागि खुला गर्ने व्यवस्था मिलाइयोस् ।

१८. अत्यधिक ध्वीन प्रदूषण गर्ने प्रकृतिका मोटरसाइकललाई नगर क्षेत्रमा बिक्री वितरण गर्न रोक लगाइयोस् ।

१९. नगर क्षेत्रमा यत्रतत्र देखिने दीनदुःखी, असहाय र मानसिक रोगी एवं सडक बालबालिकाहरुको लागि आश्रयस्थलको व्यवस्था गरियोस् ।
२०. छाडा चौपाया नियन्त्रण गर्न उचित स्थानको खोजी गरी गौशाला निर्माण गरियोस् ।

२१. पोखराको पुरानो बजार रामकृष्ण टोलदेखि गणेशटोल हुँदै भीमसेन टोल, भैरवटोल र मोहरिया टोलसम्मका परम्परागत एवं कलात्मक घरहरुलाई विशेष संरक्षण क्षेत्रमा राखियोस् ।

२२. विश्व सिमसार क्षेत्रमा सूचीकृत फेवाताल किनारमा अवस्थित बसुन्धरा पार्क र कोमागाने पार्कमा पर्यटन प्रवद्र्धनको नाममा आयोजना गरिने ध्वनी प्रदूषणयुक्त मेला, महोत्सवमा रोक लगाइयोस् ।

२३. नागरिकको स्तरीय सेवा प्रवाह, समग्र महानगरको पूर्वाधार विकासमा सुधार ल्याउन र सम्पदा संरक्षणका लागि अधिकार सम्पन्न अवैतनिक नागरिक अनुगमन समिति गठन गरियोस् वा पोखरा प्राधिकरणको प्रावधान राखियोस् ।

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal