ताजा खबर

हर्पनमा हराएका युवा खोज्न गएका प्रहरीको डुबेर मृत्यु :

पोखरा- फेवातालको  मूल स्रोत हर्पन खोलामा हराइरहेका युवालाई खोज्ने क्रममा एक प्रहरी जवानको डुबेर ज्यान गएको छ। सोमबार दिउँसोदेखि हराइरहेका दुवैजना युवाको शव पनि भेटिएको छ।

कास्की प्रहरी प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीका अनुसार पोखरा-लेखनाथ महानगरपालिका–३, नदीपुर बस्ने २४ वर्षीय ललीत पुन र इन्द्र पुन खोलामा हराइरहेका थिए। उनीहरुलाई खोज्ने क्रममा मंगलबार बिहान सशस्त्र प्रहरी गणको पोखरा कार्यालयमा कार्यरत प्रहरी जवान बलबहादुर कुँवर खोलामा डुबेका थिए। उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा कुँवरको मृत्यु भएको खत्रीले बताए।

सोमबार दिँउसो माछा मार्न गएका सात जना युवाहरुमध्ये खोलामा बल्छी खेल्ने क्रममा दुईजना बेपत्ता भएका थिए। उनीहरुसँगै माछा मार्न गएका अरु पाँच जना युवाहरु सकुशल रहेको उनले बताए। मृतक युवाहरुको शव पश्चिमाञ्चाल क्षेत्रीय अस्पतालमा राखिएको छ। हराइरहेका युवाहरु खोज्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको थियो। हपर्नबाटै बगेर आएको पानी फेवातालमा मिसिन्छ।

 

 

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal