मुख्यमन्त्रीज्यू, पोखरालाई ‘रेडलाइट’ नबनाइयोस् ! के हामीले गरिबका छोरीलाई यौनकर्मी बनाउन गणतन्त्र ल्याएका हौं ?

मुख्यमन्त्रीज्यू, पोखरालाई ‘रेडलाइट’ नबनाइयोस् !
के हामीले गरिबका छोरीलाई यौनकर्मी बनाउन गणतन्त्र ल्याएका हौं ?


माननीय मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्ग ज्यू, अभिवादनरनमस्कार । सर्वप्रथम लमजुङ्गको एक दुर्गम गिलुङ्ग गाउँमा जन्मिएर राष्ट्रिय राजनीतिमा स्थापित भई समाज र देशको सेवामा अहोरात्र खटिइरहनुभएकोमा एक जिल्लावासीको हैसियतले तपाईलाई सम्मान टक्र्याउँछु ।

तर, भदौ २६ गते मिडियामा तपाईको नाम जोडेर आएको समाचार पढ्ने मौका पाएँ, जसमा लेखिएको थियो( ‘गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले यौन व्यवसायलाई व्यवस्थित बनाउन यौनकर्मीलाई परिचयपत्रको व्यवस्था गर्नुपर्ने बताएका छन् ।’


होटल संघ नेपालले आयोजना गरेको उक्त कार्यक्रममा तपाईले कि रेडलाइट एरिया हुनुपर्ने, या त यौनकर्मीलाई परिचयपत्रको व्यवस्था गर्नुपर्ने उपाय सुझाउनुभएको लेखिएको थियो । यौनकर्मीलाई परिचयपत्रको व्यवस्था गरे थोरै थोरै कर संकलन गर्न सकिने, जसले गर्दा होटल व्यवसाय फस्टाउने, प्रहरीले होटल व्यवसायमा छापा मारिरहनुनपर्ने जस्ता फाइदै फाइदाको तर्क पेश गर्नुभएको पढेंँ ।

मुख्यमन्त्रीज्यू,
वि.संं. २०२७ सालमा इसानेश्वर प्रमोद हाइस्कुल, भोर्लेटारबाट अनेरास्ववियुको तर्फबाट स्ववियु सचिवमा निर्वा्चित हुनुभएको तपाईको राजनीतिक जीवनको सानो गोरेटोले तपाईलाई जिल्लाको सांसद, देशको पर्यटन मन्त्री र तपाई रहनुभएको पार्टीको केन्द्रीय कमिटीको सचिव र संगठन विभाग प्रमुख हुँदै गण्डकी प्रदेशको मुख्यमन्त्रीको कुर्सीसम्म पुर्‍याएको छ ।

लमजुङ्गबाट आएर यी विभिन्न ओहदामा रहेर भूमिका निभाउनुभएको तपाई समग्र लमजुङ्ग मात्रै नभएर देशकै एक उदाहरणीय नेता हुनुहुन्छ । तपाईको यो सफलतालाई हामी सबैले स्वीकार्नुपर्दछ, सिक्नु पर्दछ भन्ने लाग्छ ।

संस्कृतिका धनी गुरुङ्गहरुको बाक्लो बस्ती रहेको लमजुङ्ग जिल्लामा सोही समुदायमा जन्मिनुभएको तपाईले पार्टीमा जातीय विभाग प्रमुख र आदिवासी जनजाती फाँट इञ्चार्जमा रहेर आफ्नो भूमिका निर्वाह गरिसक्नुभएको छ ।

त्यसो त तपाईलाई तत्कालीन नेकपा एमालेले माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री पनि बनायो । तपाईलाई जनजातीको भावना बुझ्ने र नेपालको संस्कृति र त्यससँग जोडिएको पर्यटनलाई माथि लैजान सक्ने एउटा खम्बा देखेर पटक( पटक यी पदहरु तपाईका पोल्टोमा आइलागेका छन् ।

पछिल्लो समय तपाई झण्डै ८ महिना अघि नेपालको पर्यटनको राजधानी मानिने पोखरा प्रदेश नं. ४ (जो पछि गण्डकी प्रदेश भनिएको छ) को एक भाग्यमानी मुख्यमन्त्रीको रुपमा नियुक्त हुनुभयो । हिमाल र तालले सजिएको पोखराले तपाई एक आफैंमा संस्कृति बुझेको पूर्वपर्यटन मन्त्री पाएर त्यो क्षेत्रको पर्यटन, पर्यावरण, संस्कृति र भिन्न भौगोलिक वातावरणमा चासो राख्ने सम्पूर्ण नेपालीलाई एउटा आशा र उमङ्गको सञ्चार पक्कै गरायो । प्रादेशिक संरचनामा देश गएपछि पोखरा राजधानी भएको तपाई मुख्यमन्त्री हुनुभएको यो प्रदेश अलि बढी प्राथमिकतामा रही आएको छ, ता कि यो प्रदेशसँग सबैले धेरथोर आशा गरेका छन् ।

पोखरा आन्तरिक पर्यटकको पहिलो रोजाईमा मात्र पर्ने नभएर सन् १९५० मै सगरमाथा आरोहण सम्पन्न नहुँदै यही पोखराको बाटो हुँदै फ्रेञ्चहरुले अन्नपूर्णको ऐतिहासिक आरोहण गरेकाले पोखरा उ बेलादेखि नै विश्वमा चिनिएको छ । तपाई विश्वमै चिनिएको पर्यटकले पत्याइएको गन्तव्यको रुपमा स्थापित भइसकेको एउटा हिराझै बहुमूल्य प्रदेशमा रहेको पोखरा शहरलाई केन्द्र बनाएर आफ्नो अनुभवको उचाइ संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देश नेपालको यो सुन्दर शहर र प्रदेश बनाउन प्रयोग गरिरहनु भएको छ, त्यो जिम्मेवारी तपाईको काँधमा छ । तपाईको हातमा आएको पोखरा केन्द्र रहेको गण्डकी प्रदेश नेपालको उत्कृष्ट प्रदेश बनोस र बन्नेछ, तपाईलाई हार्दिक शुभकामना ।

मुख्यमन्त्री बहाल भएपछि तपाईले ८ महिनासम्म पोखरालाई बुझेर निकाल्नुभएको रेडलाइटको अन्तिम निष्कर्ष, जो यौनकर्मीलाई व्यवस्थित बनाएर परिचयपत्र जारी गर्ने कुरा नेपाली समाजको मूल्य मान्यतासँग मेल खाला वा नखाला, यो अब बहसको विषय बनिसकेको छ । तर, माफ गर्नुस मुख्यमन्त्रीज्यू, एक पर्यटन क्षेत्रमा काम गर्ने विद्यार्थीको हेतुले तपाईले प्रस्ताव गर्नुभएको यौनकर्मीलाई परिचयपत्र नै दिलाएर व्यवस्थित यौन अखडाका रुपमा हाम्रो पर्यटकीय शहरलाई विकास र विस्तार गर्ने तपाईको मास्टर प्लानसँग म यस लेखमार्फत पहिलो असहमति दर्ता गराउन चाहन्छु ।

मुख्यमन्त्रीज्यू,
एउटा गीतै छ नि, “मर्ने कसैलाई रहर हुँदैन” यस्तै यौनकर्मी बन्ने रहर पनि कमैलाई होला अपवाद बाहेक । सबै परिवारलाई आफ्नो छोराछोरीले राम्रो बाटो समाउन, उच्चशिक्षा हासिल गुरुन्, राम्रो जागिर पाउन्, समाजमा सम्मानित जीवन बिताउन् भन्ने नै हुन्छ । पैसा आर्जनका लागि पराईलाई आफ्नो शरीर बेच्नु देहव्यापारजस्तो अनैतिक कर्ममा आउने रहर कसलाई होला र ?

हो, हाम्रो समाजमा गरिबी होला, अशिक्षा होला, थोरै यस्तो समूह जान अञ्जानमा यस्तो बाटो समाउन पुगेका होलान् । राज्यले त बाटो बिराएकालाई सुबाटोमा ल्याउने पहल गर्नु पर्ला कि ? यस्ता थोरै झुण्डलाई अन्य विकल्पहरु दिएर राज्यले स(सम्मान जीवन जिउने वातावरण बनाउन पर्ला कि ?

के हामीले गणतन्त्र गरिबका छोरीहरुलाई यौनकर्मीको ट्याग लगाउन ल्याएका हौं र ? हाम्रो समाजको आवश्यकता अब रेडलाईट एरिया बनिसकेको हो ? के हाम्रो पर्यटन बजार यति कमजोर धरातलमा उभिएको छ, जहाँ धेरै पर्यटक ल्याउन हामी हाम्रा पवित्र शहरहरुलाई यौनकर्मीको शहर बनाउन लागिपर्ने ? के तपाईसँग आफ्नो छोरी चेलीलाई यौनकर्मीको लाइसेन्स वितरण गर्ने आँट साँच्चै छ ? माननीयज्यू, अन्नपूर्णको काखमा बसेर नारीहरुको अस्मितामा हल्का टिप्पणी गरेको अलि सुहाएन कि ?

मुख्यमन्त्रीज्यू, तपाईले बुझ्नुभएको पोखरा र मैले बुझेको पोखरा फरक रहेछन् । मैले बुझेको पोखरा प्रकृतिको सुन्दर घर हो । जहाँ विदेशीहरु हिमाली सभ्यताको रसोस्वादन गर्न आउँछन्, विश्वप्रख्यात टे्रकिङ्ग रुटहरु जस्तै – अन्नपूर्ण राउण्ड, घोरेपानी पुनहिल, जोमसोम, धौलागिरी बेसक्याम्प, अन्नपूर्ण वेसक्याम्प, मार्दी हिमाल, मुक्तिनाथ, अपर मुस्ताङ्ग, नार्फू, घलेगाउँ, सिरुबारी, डोल्पा आदिमा आउजाउ गर्दा पोखरा क्रस हुन्छ ।

पोखरा यी हट पर्यटन प्रोडक्टको एउटा बेसक्याम्प शहर हो । माथि उल्लेखित गन्तव्य ताकेर यो क्षेत्रमा सवार हुने पर्यटकको रुची यौन हुँदै होइन र हुनै सक्दैन । यिनीहरु विशुद्ध प्रकृतिमा रम्न आउँछन् । यिनीहरु पसिना निकालेर डाँडाकाँडामा पुग्छन् । यी पर्यटक नेपाली पर्यटनका वास्तविक मेरुदण्ड हुन् ।

यौनकर्मी अर्थात सेक्स वर्करको परिचयपत्र दिँदै पोखराजस्तो प्राकृतिक रुपले धनी ठाउँमा यौनबजारको विकास विस्तार गर्ने हो भने यी प्रकृतिप्रेमी पर्यटकको रोजाइमा पोखरा नपर्न सक्छ । स्वयम् पोखरा यौन अखडाको शहरका रुपमा प्रचार हुन जाँदा पोखराको महत्व घट्न गई नराम्रो नियतका पर्यटकले पोखरा वरपरको सामाजिक वातावरण समेत वर्वाद हुन्छ । तपाईलाई पोखराको पर्यटनबारे गलत स्कुलिङ्ग गराइएछ ।

मुख्यमन्त्रीज्यू, पर्यटन अर्थतन्त्रको एउटा स्रोेत हो, तर सबै चिज होइन । गलत पर्यटनको विकासले मुलुकले नराम्रो बाटो लिन जान्छ । यौन, लागुपदार्थ र त्यससँग जोडिएर आउने अपराध आदिलाई प्रोत्साहन गर्ने पर्यटन नीति राज्यले नलिएकै जाति होला ।

देश हाम्रो हो, थोरै पर्यटक बढ्लान्, त्यसले केही आर्थिक क्रियाकलाप बढ्ला भनेर हामीले हाम्रा चेलीबेटीलाई यौनको अस्त्रको रुपमा पर्यटकलाई सम्पनु राम्रो नहोला । यसले समाजलाई अपाङ्ग बनाइदिन्छ । हामी अरु सबै चिज किन्ने पर्यटकलाई देवता मानेर देशमा बोलाऔं, तर यौन किन्ने पर्यटकलाई ढोका बन्द गरौं । किनकि हामा्रे पर्यटन प्रोडक्ट आफैंमा मौलिक विशेषताले भरिएको छ । हाम्रा सम्पदाहरु विश्वका कुनै भू(भागमा छैनन् । सगरमाथा र भक्तपुर, लुम्बिनी र पशुपतिनाथ नेपालमा मात्रै छन् ।

रेडलाइट एरिया त शताब्दीऔंदेखि विश्वमा छाइरहेकै छन् । पेरिस, आम्सटडम, बैंकक, मुम्बई नबनाउ“m हाम्रा मन्दिरै मन्दिरका शहरहरुलाई । हामीसँग जे छ, त्यसैको प्रचार गरौं, त्यसैमा पर्यटक भुल्न सक्ने आधार खोजौं ।

विकसित देशका कति कुरा क्षणिक नक्कल गर्न सकिन्छ । तर, दैनिक जीवनमा लागू गर्न सम्भव हुँदैनन् । विकसित देशका आ(आफ्ना संस्कार र संस्कृति छन् । पश्चिमा देशमा हुने सम्बन्धविच्छेद, भौतिक विकास उनीहरुको शिक्षा र समाजसँग उनीहरुका वेश्यालय र यौनकर्मीका कथा जोडिएका छन् । हाम्रा कथाहरु हिमाल र बुद्धसँग जोडिएका छन् । त्यसैले रेडलाइट एरिया हाम्रो नेपाली समाजको हालको गन्तव्य हुनुहुँदैन । हामी आयुर्वेद, ध्यान र योगा पर्यटन, हिमाली पदयात्रा पर्यटन, अर्गा्निक खानाको पर्यटन लगायत कैयौं आफ्नै माटोमा उपलब्ध स्रोतको उपयोग गरेर पर्यटकको सेवामा लाग्न सकिन्छ ।

भारतकै पर्यटकलाई उनीहरुका हिल स्टेशनहरु दार्जी्लिङ्ग, सिमला, सिक्किम, मनाली, काश्मीर आदिमा कुनै रेडलाइट एरिया निर्माण नगरे पनि उनीहरुको पर्यटनले उल्लेख्य प्रगति गरेकै छ । ठूलो जनसंख्या भएको चीनमा यौनजन्य गतिविधिको किनबेचमा बर्जित छ । अमेरिका र बेलायत जस्ता विकसित देशले समेत अर्धवर्जित रणनीति अपनाएका छन् । त्यसैले नेपालजस्तो विश्वको अग्लो ८ हिमालले बास गरेको, गौतमबुद्ध जन्मिएको देशमा हाम्रा नारी अस्मिताहरुलाई राज्यले सुरक्षाको सुनिश्चिता गर्नु पार्ला कि ?

जिल्लावासी र एक देशप्रेमीको नाताले तपाईले उठाउनुभएको विषयमा पुनः असहमति जारी गर्दै यो पत्र यहीँ अन्त्य गर्दछु ।

तपाईलाई यी असहमतिहरुले भोलिका दिनमा यस्ता विषयमा बोल्न र काम गर्न सकारात्मक सहयोग गर्नेछ भन्ने पूर्ण आशा गर्दछु । तपाईको कार्यकाल सफल रहोस् । धन्यवाद ।

प्रतिकृया दिनुहोस

मुख्यमन्त्रीज्यू, पोखरालाई ‘रेडलाइट’ नबनाइयोस् ! के हामीले गरिबका छोरीलाई यौनकर्मी बनाउन गणतन्त्र ल्याएका हौं ?

बिश्वभर ७० औं अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाईंदै छ । सन् १९४८ मा मानव अधिकारको विश्वब्यापी घोषणापत्र जारी भएपछि विश्वभरी डिसेम्बर १० तारीखका दीन

मुख्यमन्त्रीज्यू, पोखरालाई ‘रेडलाइट’ नबनाइयोस् ! के हामीले गरिबका छोरीलाई यौनकर्मी बनाउन गणतन्त्र ल्याएका हौं ?

असत्यमाथि सत्यको विजय अर्थात् हिंसा अन्त्यको खुशीयालीमा हरेक वर्ष मनाउँदै आएको विजयादशमी पर्वले यतिबेला नेपाली समाज उल्लासमय बनेको छ । विशेष गरि यो

मुख्यमन्त्रीज्यू, पोखरालाई ‘रेडलाइट’ नबनाइयोस् ! के हामीले गरिबका छोरीलाई यौनकर्मी बनाउन गणतन्त्र ल्याएका हौं ?

पोखरा, ३ आश्विन  गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरी बहादुर चुमानले समाजवादको वास्तविक मार्ग नै सहकारी भएको वताएका छन । पोखरामा