मेलमिलाप सम्बन्धि आधारभुत तालिम सुरु :

पोखरा, १५ जेठ
मेलमिलाम सम्बन्धि ४८ घण्टे आधारभुत तालिम सोमबारबाट पोखरामा सुरु भएको छ । असहाय सेवा केन्द्र (सुस) को आयोजना तथा मेलमिलाप परिषदको सहयोगमा सुरु भएको तालिम २२ गते सम्म चल्नेछ । तालिमको उद्घाटन गर्दै उच्च अदालत पोखराका वरिष्ठतम् न्यायाधीश सत्यराज गुरुङले नेपालमा मेलमिलापमा गरिएको लगानी अनुसार प्रतिफल प्राप्त हुन नसकेको बताए । ‘मेलमिलापमा गरिएको खर्चको तुलनामा प्रतिफल प्रायः शुन्य छ’ गुरुङले भने ।  सन्तुष्ट हुन सक्ने अवस्था नभएपनि विस्तारै सकारात्मक संकेत देखिन थालेको उनको भनाई थियो । मेलमिलापको बारेमा सेवाग्राहीलाई बुझाउन सक्ने हो भने मेलमिलापको महत्व बढ्नेमा उनको जोड थियो ।
कार्यक्रममा बोल्दै तालिम संयोजक एवं नेपाल बारएशोसिएशनका उपाध्यक्ष उषा मल्ल पाठकले मेलमिलापको माध्यबाट पक्षलाई जीत–जीतको अनुभुती गराउन सकिने भएकोले यसको महत्व बढ्दै गएको बताइन् । समाजसेवा गर्छु भन्ने भावना भएको व्यक्तिले मात्र मेलमिलाप गराउन सक्ने भन्दै उनले विवाद समाधान गर्न मेलमिलापकर्ताले पर्याप्त समय छुट्याउनुपर्ने भनाइ उनको थियो ।
नेपाल बार एसोशिएसनका पूर्व उपाध्यक्ष अनिता गुरुङले विक्रम सम्वत २०६० बाट कास्कीका मेलमिलापको कार्यक्रम सुरु भएको बताइन् । सामाजिक भावना भएको व्यक्ति मेलमिलापकर्ता बन्न सके समाजमानै विवादको समाधान गर्न सहज हुनेमा उनको जोड थियो । कास्कीका तत्कालिन दुई नगरपालिका र ९ गाविसमा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान गर्दै आएको उनले जनाइन् । हरेक केन्द्रमा २७ जनालाई तालिम दिई सुचिकृत गराई उनीहरुको माध्यमबाट विवाद समाधान गर्ने गरिएको उनको भनाइ थियो ।
कार्यक्रममा सुसका केन्द्रिय सदस्य विष्णुमाया भुषाल, मेलमिलाप परिषदका शाखा अधिकृत देवीराम भण्डारी, लेखा अधिकृत गोपाल प्रसाद रेग्मी लगायतले मेलमिलाप सम्बन्धि आधारभुत तालिमको बारेमा जानकारी गराएका थिए ।
तालिममा कास्की, तनहुँ, लमजुङ, गोरखा, मनाङ, स्याङ्जा जिल्लाका अदालतका कर्मचारी, शिक्षक, समाजसेवी, प्रहरी गरी २७ जनाको सहभागीता रहेको छ । कार्यक्रममा सहजीकरण सुसका उपाध्यक्ष उषा मल्ल पाठक, सुसका केन्द्रिय सदस्य विषणुमाया भुषाल, नेपाल बार एसोशिएसनका पूर्व उपाध्यक्ष अनिता गुरुङ लगायतले गर्नेछन् । 

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal