सस्तो बजार खाली गर्ने निर्णय पुर्नविचार गरिदिन प्रधानमन्त्रीलाई आग्रह :

सस्तो बजार खाली गर्ने निर्णय पुर्नविचार गरिदिन आग्रह
पोखरा, २० चैत २०७३ ।
पोखराको नयाँबजारस्थित सस्तोबजार खाली गर्न गृहमन्त्रालयले पत्राचार
गरेपछि आतंकित बनेका त्यहाँस्थित साना व्यापारीहरुले त्यस्तो कुकृत्य
नगर्न र नगराउने वातावरण बनाईदिन प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष
अनुरोध गरेका छन् । कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद
मैनालीमार्फत् एक ध्यानाकर्षपत्र पठाउँदै प्रधानमन्त्री पुष्पकमल
दाहाललाई उनीहरुले यस्तो अनुरोध गरेका हुन् । उनीहरुले सस्तो बजार खाली
गराउने निर्णय पुर्नविचार गर्न पनि उक्त ध्यानाकर्षणपत्रमार्फत्
प्रधानमन्त्रीलाई आग्रह गरिएको छ । पोखरा सस्तोबजार व्यवस्थापन समितिका
अध्यक्ष केशबबहादुर भुजेलको नेतृत्वमा गएको एक टोलीले आफ्नो ध्यानाकर्षण
पत्र आइतबार कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली र पोखरा
लेखनाथ महानगरपालिकाका कार्यकारी अधिकृत दीर्घनारायण पौडेललाई बुझाएको छ
सो ध्यानाकर्षणपत्रमा आफूहरुले सञ्चालन गरेको सस्तो बजार खाली गर्दा सैयौ
साना स्वरोजगार व्यवसायी र तिनमा आश्रति हजारौं मानिसहरुकोे रोजीरोटी
खोसिनुका साथै फेरि सडकमा नै आउनुपर्ने वाध्यता आउने कुरा उल्लेख गर्दै
साना स्वरोजगार व्यवसायी फुटपाथमा आउँदा बजार अव्यवस्थित र अशान्त हुने
कुरा सचेत गराइएको छ । साथै सोही ध्यानाकर्षणपत्रमार्फत् यदि सस्तोबजार
खाली गराउने निर्णय पुर्नविचार नगर्ने हो भने हजारौं परिवारहरु शहीद
बन्नुपर्ने अवस्था सृजना हुनेतर्फ कडा चेतावनी दिइएको छ । यस्तो
परिस्थिति नआउने वातावरण बनाउनका लागि आम बुद्धिजीवि, व्यवसायी।
कर्मचारी, राजनीतिक पाटीका नेता तथा कार्यकर्ता, मानवअधिकारवादी,
सञ्चारकर्मी र पत्रकारहरुलाई पनि सोही ध्यानाकषर्ंणपत्रमार्फत् आव्हान
गरिएको छ ।
पोखराको फुटपाथमा रहेका साना व्यवसायीहरुलाई व्यवस्थनपन गर्ने भन्दै
जिल्ला प्रशासन कार्यालय, तात्कालीन पोखरा उपमहानगरपालिका, पोखरा उद्योग
वाणिज्य संघ लगायतको पहलमा नेपाल वायु सेवा निगमको स्वामित्वमा रहेको
नयाँबजारस्थित जग्गामा फुटपाथे व्यापारीलाई व्यवस्थित गरिएको थियो । तर
अहिले आएर नेपाल वायु सेवा निगमले उक्त जग्गा टेण्डरमार्फत् सूर्यदिल
इन्भेष्टमेन्ट प्रालिलाई भाडामा दिएको छ । पोखरा सस्तोबजारका साना
स्वरोजगार व्यवसायीले उक्त टेण्डर रद्द गरी भाडा साना स्वरोजगार
व्यवसायीहरुले सोझै बुझाउने व्यवस्था हुनुपर्ने मागगरिरहेका छन् ।
उनीहरुले यदि सस्तो बजारबाट विमुख गरिने हो भने साना स्वरोजगार
व्यवसायीले रगत र पसिना बगाएर लगानी गरेको करीब ३६ करोड रुपियाँ बराबरको
सम्पत्ति डुब्ने ध्यानाकर्षपत्रमा उल्लेख गरिएको छ ।

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal