पोहोर भन्दा १० हजार बढीले कोरियन भाषा परीक्षाका लागि आवेदन दिए

काठमाडौं, चैत १८ – आठौं कोरियन भाषा परीक्षाका लागि ७१ हजार छ सय २५ जनाले आवेदन दिएका छन् । आवेदन दिनेको संख्या अघिल्लो वर्षभन्दा १० हजार भन्दा धेरै हो । सन् २०१७ मा भएको भाषा परीक्षाका लागि झण्डै ६१ हजार जनाले आवेदन दिएका थिए । यो वर्ष हुने भाषा परीक्षाका लागि कृषि तथा पशुपालन क्षेत्रमा आवेदन दिनेको संख्या धेरै छ । उत्पादनमुलक क्षेत्रमा २२ हजार छ सय ६१ जनाले आवेदन दिएका छन् । 

आवेदन दिने म्याद शुक्रबार राती १२ बजेसम्म भएकाले यो संख्या बढ्न सक्ने इपिएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिनुभयो । 

सन् २०१८ मा कोरियाले उत्पादनमुलक क्षेत्रमा चार हजार र कृषि तथा पशुपालन क्षेत्रमा ६ हजार दुई सय नेपाली कामदार लैजाने घोषणा गरेको छ । आउँदो जेठ २७ र २८ गते हुने आठौं कोरियन भाषा परीक्षाका लागि पहिलो पटक अनलाइन मार्फत आवेदन लिइएको हो ।इपिएस कोरिया शाखाले परीक्षा एकै दिन दुई सिफ्टमा सञ्चालन गर्ने तयारी गरेको छ । परीक्षा केन्द्र र समय भने आउँदो जेठ १९ गते मात्रै तोकिने छ । असार १६ गते प्रकाशित हुने नतिजा परीक्षार्थीले अंक सहित हेर्न पाउने छन् । 

© 2016 Radio Safalta 103.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal